झापा- झापाको कनकाई ६ मा वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका ९ जनाकै उम्मेदवारी कायम भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अपरान्ह सार्वजनिक गरेको अन्तिम नामावली अनुसार मनोनयनपत्र दर्ता गराएका सबैको उम्मेदवारी कायम भएको हो। वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका लक्ष्मीप्रसाद ओलीले ‘चापाकल’ चुनाव चिन्ह पाएका छन्।
वडा अध्यक्षका लागि ८ वटा राजनीतिक दल र एकजना स्वतन्त्रसहित गरेर ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। सबैको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार दिउँसो १ बजेसम्म इच्छुकका लागि उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। तर, निर्धारित समयसम्म कसैले उम्मेदवारी फिर्ता लिएनन्। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ।
कनकाई ६ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली, नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलराम बस्नेत, नेकपा माओवादी केन्द्रबाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायण निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजंवशी, मंगोल नेशनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ चुनावी मैदानमा छन् ।
२०७९ सालमा भएको निर्वाचनमा नेकपा एमालेका तर्फबाट ५०८ मत प्राप्त गरी वडाध्यक्षमा विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि मंसिर १६ मा उपनिर्वाचन हुन लागेको हो । २०७९ को स्थानीय तहको निर्वाचनका समयमा वडा नं. ६ मा कुल दुई हजार ७१ जना मतदाता थिए । अहिले मतदाताको संख्या एक हजार पुरुष र एक हजार ५८ महिलागरी कुल दुई हजार ५८ पुगेको छ । सो वडामा १३ जना मतदाता घटेका छन् ।