झापा- आगामी मंसिर १६ गते कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
कन्काई नगरपालिका ६ नं वडा कार्यालयको पहिलो तलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
झापा जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको जनाइएको छ । उपनिर्वाचनका लागि कन्काई ६ मा दुई हजार ५८ जना मतदाता छन् ।
कन्काई ६ मा गत २०७९ भएको स्थानीय तह निर्वाचनमा एक हजार पुरुष र एकहजार ५० महिला गरी कुल दुई हजार ५० जना मतदाता रहेका थिए ।
स्थानीय तहको निर्वाचनपछि गत भदौ ३१ गतेसम्म (उपनिर्वाचनको मिति घोषणाअघि) उक्त वडामा आठजना मतदाता बढेका छन् ।