काठमाडौँ । तिहार बिदाको समयलाई सदुुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्यान्ह परिवारसहित चन्द्रागिरि डाँडोमा पुुग्दा वातावरण थोरै घमाइलो थियो ।
वरिपरीका जङ्गललाई हुस्सुुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र विदेशी यात्रीहरु आफ्नै लयमा चन्द्रागिरि पहाड, चन्द्रागिरि रिसोर्ट र भालेश्वर महादेवको परिसरमा घुमिरहेका थिए ।
यही बीचमा त्यहाँ पुगेका प्रधानमन्त्री ओलीले भालेश्वर महादेवको दर्शन र केही यात्रुुको आग्रहमा तस्बिर खिचाएपछि काठमाडौँ उपत्यका देखिने छेउतिर राखिएको कुर्सी र टेबलमा बसेर डायरी र कलम समाए। नजिकै रहेका सुरक्षाकर्मी र सहभागीले आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्न लागेको भन्ने ठाने पनि प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्किए ।
“चन्द्रागिरि प्रेमको प्रतीक
सतीदेवी भाल पतन
सर्वाेत्तम प्रेमकथा !’’
साथमै रहेकी उनकी पत्नी राधिका शाक्य र सचिवालयको टोलीलाई प्रधानमन्त्री ओलीले यही रचनालाई वाचन गरेर सुनाए । चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्कालै प्रतिक्रिया दिए, “सम्माननीयज्यूू प्रायः चन्द्रागिरि आउँदा केही न केही लेख्नुहुन्छ । हामी धन्य छौँ ।”
राजनीतिका साथै कला, साहित्य र सङ्गीतलाई सक्दो समय दिने र अध्ययनमा त्यत्तिकै रुचि राख्ने नेताका रुपमा परिचित प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले धेरै पटक सार्वजनिकरुपमा भन्ने गरेका छन्– “म कवि/साहित्यकार होइन ।”