झापा । नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिने पार्टीका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको छ।
हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईले राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति दिएको अनेमसंघका महिलाहरुको आरोप छ।
प्रसाईंले एमालेमा आवद्ध महिला नेतृत्वलाई विभिन्न आक्षेपहरू लगाइरहकाले उनलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएका हुन्।
नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आइतबार पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईंले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरूको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएको छ।
तथ्य प्रमाण संकलन गरेर प्रसाईंलाई कानुनी दायरामा उभ्याउने अनेमसंघ केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेले बताइन्। उनले प्रमुख जिल्ला अधिकारीलाई यसबारे डेलिगेशन गएर प्रसाईंले महिलामाथि दिइरहेको अभिव्यक्तिबारे अवगत गराउने जानकारी दिइन्।
‘महिलाहरु चुप बसेका कारण प्रसाईंले मनपरी बोलिरहेका छन्’ उनले भनिन्, ‘अब हामी चुप बस्ने पक्षमा छैनौं। प्रसाईंलाई कारबाहीको दायरामा ल्याएर छोड्छौं।’
उनीहरूले प्रसाईंविरुद्ध झापाली महिलाहरु मुक्तिचोक र बीएण्डसी अस्पतालमा पुगेर विरोध प्रदर्शन गर्न तयार रहेको बताएका छन्।
महिलामाथि हिंसाका घटनाहरू बढ्दै गइरहेकाले अनेमसंघले गाउँगाउँसम्म महिलालाई सचेत गराउने बताएको छ। टोलटोलबाट महिला हिंसाविरुद्ध प्रतिकार गर्न नेतृ काफ्लेले आग्रह समेत गरेकी छन्।
अनेम संघ झापा अध्यक्ष पवित्रा पाठकले दुर्गा प्रसाईंले विभिन्न माध्यममार्फत महिलामाथि हिंसा हुने अभिव्यक्ति दिइरहेको आरोप लगाइन्। उनले प्रसाईं र प्रसाईंको जस्तो अभिव्यक्ति दिने कसैलाई पनि नछोड्ने चेतावनी दिएकी छन्।