झापा । जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र पूर्वी तराईमा दसैं आएको अनुभूति हुन्छ।
सोही अनुभूति गराउन झापाका विभिन्न स्थानमा सन्थाल नाच देखिने गरेको। पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप हुने अवस्थामा पुगेको छ।
सन्थाल जातिका मानिसहरु आर्थिक अभावका कारण विस्थापित हुने क्रम जारी रहेकाले उनीहरुको विशेष प्रकारको नृत्य पनि लोप हुन लागेको बताइन्छ।
सन्थाल अग्रजहरु भने आफ्नो मौलिक संस्कृति नै हराउन लागेकोमा चिन्तित छन्। उनीहरु भन्छन् सन्थाल युवाहरुमा यो नृत्यप्रति चासो घट्दो क्रममा छ।
टाउकामा नेपालको राष्ट्रिय झण्डा, एकै प्रकारका पहिरनमा कछाड र कुर्ता लगाई शरीरका अंगहरु हल्लाउंदै एक नासले गरिने सन्थाल नृत्य अरु नृत्यहरु भन्दा पृथक छ।
ढोल, मादल, घुंघुरुको आवाज निकालेर उनीहरु निरन्तर घण्टौंसम्म नाच्न सक्छन्।
तर विगतमा दशैंका बेला घरघर गइ नाचिने सन्थाल नृत्य, अहिले मेलामा मात्र सिमित बन्न पुगेको छ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोवास गर्ने सन्थाल जातिको यो नृत्य के कारणले लोप हुने अवस्थामा पुगेको झापा गरानमीका एक जना स्थानीयबासी रनबहादुर थापा बताउँछन्।
उनी भन्छन्, ‘सन्थाल समुदायका नयाँ पुस्तालाई परम्परा जोगाउनु पर्छ भन्ने हेक्का नभएकोले पनि हुनसक्छ सन्थाल नृत्य हराउँदै गएको छ। जति छन् पुराना पुस्ताका मानिसहरूले परम्परा धानेका छन्।’
सिमान्तकृत सन्थाल वा सतार जातिका युवा पिडीमा परम्परागत सन्थाल नृत्यप्रति आकर्षण नभएकाले यो नाच लोप हुन लागेको धेरैको बुझाइ छ।
विगतमा फूलपातीबाट कोजाग्रत पूर्णिमासम्म विभिन्न ठाउँमा आयोजना गरिने प्रतियोगितात्मक कार्यक्रममा धेरै सन्थाल नाचका समूहहरु सहभागी हुने गरेकोमा पछिल्ला बर्षहरूमा सन्थाल नाचको रौनक घट्दै गएको पाइन्छ।
सन्थाल समुदायका मानिसहरू धेरै भारततिर पलाउन भएकाले पनि परम्परा जोगाउन निकै गाह्रो पर्दै गएको सन्थाल समुदायका पूर्व सांसद मोहन टुडू बताउँछन्।
उनी भन्छन्, ‘एकातिर लोपोन्मुख जाति अर्कातिर सुविधाका लागि भारततिर पलायन हुने गरेकाले सन्थाल समुदायका परम्परा धान्ने मानिसहरूको संख्या घट्दै गएको छ।’
टुडूका अनुसार कोभिड संक्रमणका बेला शून्य जस्तै बनेको सन्थाल नाच अहिले विस्तारै बढ्दै गएको छ।
२०७८ सालको जनगणना अनुसार नेपालमा सन्थाल जातिको जनसंख्या करिब ५५ हजार छ।