झापा । हत्या गरी गाडेको सुराक पाइसकेपछि चार दिनदेखि उत्खनन् गरिरहेको प्रहरीले बिरिङ खोलाको किनारबाट एक व्यक्तिको कंकाल फेला पारेको छ।
हत्या गरेर गाडेको सुराक पाएको प्रहरीले बिरिङ खोला किनार उत्खनन् गर्दा कंकाल फेला पारेको हो। करिब तीन महिना अघिदेखि हराइरहेका झापा बाह्रदशी–५ फूलवारीका राजेश ठाकुरको कंकाल हुनसक्ने प्रहरीको भनाइ छ।
बाह्रदशी ७ स्थित बिरिङ खोलाको बगरमा कंकाल भेटिएको हो। प्रहरीले चार दिनदेखि ठाकुरको शव खोज्न उत्खनन् गरिरहेको थियो।
कंकाल शनिवार साँझ बिरिङ खोलाको बगरमा भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताएका छन्। कंकालका बारेमा कानुनी प्रक्रिया पुर्याउने कार्य भइरहेको र पहिचान गर्न प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
चार दिनदेखि प्रहरीले एक्जाभेटर प्रयोग गरेर ठाकुरको शव खोजिरहेको थियो। प्रहरीले दुई दिनसम्म आरोपित राजवंशी परिवारको घर आँगन खनेको थियो। त्यसपछि बिरिङ खोलाको बगरमा खन्दा पनि ठाकुरको शव भेटिएको थिएन।
हत्या गरी दुबई गएका गणेश राजवंशीसंगको कुराकानी र अन्य अनुसन्धानबाट ठाउँ पत्ता लगाई शनिवार उत्खनन् गरिएको डीएसपी विष्टले बताए। ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए।
चार महिना अघिदेखि बेपत्ता भएका ठाकुरलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले बिहीवार र शुक्रवार घरमा उत्खनन् गरेको थियो।
छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीलगायतले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले उनीहरूको घर उत्खनन् गरेको थियो।
आफ्नी काकी मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका भतिज नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको थियो। राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका थिए।
घटनामा संलग्न रहेका गणेश दुबईमा छन्। घटना गराएर उनी विदेश गएका थिए। मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन्। मुना, उनका जेठाजु समिर राजवंशी र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ। दुवईमा रहेका गणेशलाई पनि झिकाउने पहल भइरहेको डीएसपी विष्टले जानकारी दिएका छन्।
