काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन्।
नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए।
उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए ।
जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।
