झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पञ्चायतकाल अन्त्यदेखि अहिलेसम्मको सत्तामा बसेका दलहरू नफेरिका र तिनै दलका नेताहरूको नेतृत्वमा सत्ता चलाएकाले देशले दुर्गति भोग्नु परिरहेको बताएका छन्।
शनिवार झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले गएको ३५ बर्ष शासन गरेको बताए।
तिनै दलका नेताहरूले देश चलाएको र अहिले देशको अवस्था बिग्रिँदै गएको उनले बताए।
ती दलहरू सत्ताको मात्र मिल्ने तर जनताको भविष्यका लागि कहिल्यै मिलेको नदेखिएको लिङ्देनको भनाइ थियो।
उनले राप्रपाले सत्ताको बागडोर चलाउनु मौका पाए मुलुकको अवस्था फेरिने दाबी गरे।
देश बनाउने राजनीतिले हो भन्दै राजनीति बिग्रे युवावर्गको भविष्य बिग्रिने उनले बताए।
देश नबनेको र राजनीतिमा भ्रस्टाचारी र बेइमानहरूको बिगबिगी रहेको उनको दाबी थियो।
