झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि उपद्रो गर्नसक्ने भन्दै उनका दुई जना समर्थकलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।
आइतबार साँझ ५ बजेतिर बजे बिर्तामोड–३, बिर्ताबजारस्थित निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए।
त्यस्तै, साँझ ५ बजे कमल –४, सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रसाई पक्राउ परेपछि झापामा अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरुलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
