काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेकोमा घोर भर्त्सना गरेका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको भनाइ छ ।
विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आज भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थितको निवासमै गएर प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । जसअनुसार आज उनी घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
यसलगत्तै सांसद डा शर्माले एक भिडियो सन्देशमार्फत भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको घोर भर्त्सना गर्नुपर्छ।’
यसको विरोधमा देशभरका जनता आन्दोलनमा उत्रिन पनि सांसद डा शर्माले आह्वान गरेका छन् । ‘अहिलेको राज्यसत्ता जनताको पक्षमा छैन । सरकार दमनमा उत्रिएको छ, जनताको आवाज दबाउन खोज्दैछ । अब सबै नेपाली जनताले डटेर यसको विरोधमा उत्रिनुपर्छ ।’
यसैगरी सांसद डा. शर्माले यस्ता राज्य आतंकका विरुद्धमा न्यायालयको भूमिका निकै महत्वपूर्ण रहने र कुनै राजनीतिक दलको गन्ध आउन नदिइ स्वतन्त्र निर्णय गर्न पनि आग्रह गरेका छन् । उनले दुर्गा प्रसाईंको तत्काल रिहाईको मागसमेत गरेका छन् ।
