झापा । झापाको मेचीनगरमा प्रधान कार्यालय रहेको नेपाल बहुउद्धेश्यीय सहकारी संस्थाले विक्री गर्ने गरेको चियाको गुणस्तरमा कमी देखिएको मुद्दा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले संस्थालाई ५० हजार रुपैयाँ धरौटी माग गरेबमोजिम उक्त रकम एनएमसीले बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले जानकारी दिए।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार एनएमसीको चिया कम गुणस्तरको पाइएकाले कारबाही प्रक्रिया अगाडी बढाएको र धरौटी तोकिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।
खाद्य परीक्षण प्रयोगशाला विराटनगरले एनएमसी चियाको नमूना परीक्षण गर्दा कम गुणस्तरको मापदण्ड नपुगेको रिपोर्ट जिल्ला प्रशासन कार्यालय झापामा पठाएपछि त्यस्को मुद्दा प्रमुख जिल्ला अधिकारीको इजलासमा चलिरहेको सहायक प्रजिअ नेपालले बताए।
उनले भने, ‘मुद्दाको किनारा नलागुन्जेलका लागि धरौटी माग गरेबमोजिम गत साउन २४ गते उहाँहरूले धरौटी वापतको रकम बुझाउनु भएको हो।’
एनएमसीका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले बजार अनुगमनका क्रममा कुनै एक स्थानको चियाको नमूना संकलन गरेर नमूना सरकारी निकायले परीक्षण गरेको बताए। उनले परीक्षण रिपोर्टमा ‘मोइस्चर’को मात्रा नपुगेको भन्ने आफूले बुझेको बताए।
उनले भने, ‘चर्चा भए जसरी गुणस्तरहीन भन्ने होइन। मोइस्चरको मात्रा केही नपुगेको भन्ने मैले बुझेको हुँ।’
एनएमसीले व्यवसाय विस्तार गर्ने क्रममा २०८० जेठ २८ गते बिर्तामोडमा पत्रकार सम्मेलन गरी चिया विक्री वितरण शुरु गरेको जानकारी दिएको थियो।
