काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन्।
आइतवार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले चीनको सरकारले एकातिर सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्ने र अर्कोतिर वामपन्थीहरु मिल्नुपर्छ भन्दै हिँड्ने गरेको बताए।
उनले आफूले काँग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको सो नीति बुझ्न नसकेको बताए। उनले नेपाललाई चीनले बुझ्न नसकेको र नेपालले पनि चीनलाई बुझ्न नसकेको कुरा शर्माको पुस्तक पढेपछि स्पष्ट हुने बताए।
उहाँले भन्नुभयो, ‘म नेपाली काँग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरु चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ । त्यही चीनको सरकारको मान्छे फेरि एकछिन पछि दुई वटा वामपन्थी पार्टी मिल्नुपर्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ । त्यसैले मैले चीनलाई कसरी बुझ्छु होला । चीनले मलाई बुझेको जस्तै । यो सन्दर्भ उठाउनुभएको कुरा नेपाली काँग्रेसको कार्यकर्ता भएर हेर्दै गर्दा ठिकै हो भन्ने लाग्यो ।’
उनले नेपालको राजनीतिक दल, संवैधानिक शक्तिहरु एक ठाउँमा उभिएर चीनले नेपालमा संविधान मान्ने जुनसुकै दललाई पनि विश्वास गर्नसक्ने वातावरण नेपालले बनाउनुपर्ने लेखकले पुस्तकमा उल्लेख गरेको बताए ।
