झापा । पुराना कम्युनिष्ट योद्धाका रुपमा परिचित लोकबन्धु कन्दङ्वा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आइतबार बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका बीच कन्दङ्वा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
कन्दङ्वाको नेतृत्वमा ५ सय बढी मानिसहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष हुन् । उनी नेकपा एमालेमा रहेर लामो समय राजनीतिमा क्रियाशील थिए ।
कन्दङ्वासँगै नेकपा एमाले जिल्ला कमिटी सदस्य सिता रणपहेली पनि माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा १ नम्बर प्रदेश इन्चार्ज हरिबोल गजुरेल (शितलकुमार)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै कन्दङवाले किसानको, महिलाको, मजदुरको, आदिवासी जनजातिको, उत्पीडित वर्गको, दलितको पक्षमा एजेण्डा उठाउने एकमात्र पार्टी माओवादी केन्द्र भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए । माओवादी केन्द्रलाई सहयोग नगरे देश खतरामा जाने भएकाले पनि आफू माओवादीमा प्रवेश गरेको बताए ।
