मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन नहुने जिकिर गरेका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा राखे ।
‘जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकी उहाँलाई हटाउनु उचित हुदैन, यसबाट सत्तापक्ष पछिहट्ने मेरो विश्वास छ’,पूर्वप्रधानमन्त्री दाहालले भने ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिए।
पूर्वप्रधानमन्त्री दाहालले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठूलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताए।
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले भने,“प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुनेछ ।”
