झापा । झापाको शिवसताक्षीमा गएराति एक पुरुषको हत्या भएको छ।
शिवसताक्षी ८ शितल चोकमा ४२ बर्षीय रामप्रसाद सिटौलाको हत्या भएको हो। हत्या आरोपमा मृतकका दाजु नारायण सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए।
उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए। गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो।
उनको टाउकोमा चोट देखिएको छ। दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।
घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो। उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ।
दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशंका छ।
तीनजना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन्।
