झापा । इलामको दानाबारीबाट बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ ।
विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न नमिल्ने भएर ती केरा नष्ट गरिने भएको छ ।
आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् ।
दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।
प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खन भनिएको छ ।
पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ ।
बिषादी देखिएको केरा खाडलमा पुरेर नष्ट गरिने र बाँकी केरा केही दिन राखेर पुनः चेकजाँचपछि मात्रै बजारमा बिक्री गर्ने वा नगर्ने भनेर निर्णय गरिने बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।