झापा । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् ।
निषेधित क्षेत्रमा अनशन बसेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरी धरपकडपछि उनीसहित करिब ४० जना कार्यकर्ता पनि अनशनस्थल छाड्न बाध्य भएका थिए । प्रहरीले उनलाई गाडीमा टंकीसिनवारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर पुगेका छन् । उनी विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।
निषेधित क्षेत्रमा अनशन बसेको भन्दै विराटनगर–७ स्थित प्रदेशसभा सचिवालयको सय मिटर नजिकैबाट कार्कीलाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले हटाएका केही योजनालाई निरन्तरताको माग गर्दै उनी समर्थकसहित अनशनमा बसेका छन् ।
उनले दश वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने माग राखेका छन् ।
यस्तै शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जङ्गल निर्माण गर्नुपर्ने माग पनि अघि सारेका छन् ।