बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगुरका पाठा वितरण गरेको छ ।
नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत
उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमूना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताए । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उनले आग्रह गरे ।
यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले
बंगुरका पाठाबाट मनग्य आम्दानी लिनसकिनेमा आफू विश्वस्त रहेको बताए । उनले आगामी दिनमा कृषक महिलाहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरुको आयोजना गर्ने धारणा राखे।
नगरपालिकाले गएको आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पाठा वितरण गरेको हो । कार्यक्रममा बोल्दै पशुपंछि तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले आर्थिक वर्ष २०७४/७५ यता नगरपालिकाले
१ करोड ४४ लाख रुपैयाँ बराबरको बंगुर र बाख्राका खोर निर्माणमा खर्च गरिसकेको जानकारी दिइन् । उनले बंगुरपालनबाट कृषकले मासिक ६० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताइन्।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, वडा नम्बर २ का वडासदस्य ओमनाथ गौतम, चेतन बिमलीलगायतको उपस्थिति रहेको थियो ।