बिर्तामोड । बिर्तामोडबाट तीन जना बेसहारा नागरिकको उद्दार गरिएको छ ।
मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले सोमबार दिउँसो उनीहरुको उद्दार गरेको हो ।
बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिंह र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो ।

बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोही नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।
यस्तै सिंह सैनिकमोडको एउटा निर्माणधिन घरमा रात कटाउँदै आएका थिए । मानसिक अवस्था ठिक नभएका सिंहले कहिले काँकरभिट्टाको गरामनी कहिले भारतको पानीटंकी घर बताउने गरेका छन् ।

यस्तै गौतमको पनि मानसिक अवस्था ठिक छैन । बुट्टाबारी नजिकै शुभबिहानी टोलबाट उद्दार गरिएकी उनले मोरङको गछिया आफ्नो ठेगाना बताएकी छन् ।
उद्दार गरिएका सबैलाई बिर्तामोड नगर प्रहरीको गाडीमा राखेर मानव सेवा आश्रम मेचीनगर पठाइएको नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । उनले यस प्रकारका वेसाहारा नागरिक बिर्तामोड क्षेत्रमा कोही भेटिए उद्दार गरिने पनि जानकारी दिए ।
