काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नैतिकतामाथि प्रश्न उठेर प्रमाणित भएका र आर्थिक अपचलन गरेकाहरूलाई पार्टीमा कुनै ठाउँ नहुने चेतावनी दिएका छन् ।
पोलिटब्युरो सदस्यहरूले नै पार्टीका नेताहरूको आचरणका कारण समस्या आएको रिपोटिङ गरेपछि बुधबार बैठक समापनका क्रममा ओलीकाे यो चेतावनी आएकाे हो ।
पाेलिटब्युरो बैठकमा पटक-पटक आचरणका कुरा पार्टीभित्र मात्र होइन आम रुपमा नै चर्चाको विषय बन्दा पार्टीमा समस्या आएकाले यसबारेमा ठोस निर्णय गर्नुपर्ने धारण अधिकांस सदस्यले राखेको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । ती सदस्यले भने, ‘बैठकमा नामै त कसैको लिएनन् तर पछिल्लो समयमा नैतिकतामाथि प्रश्न उठेका कमरेडका बारेमा ठोस निर्णय हुनुपर्ने धारणा राखेका थिए ।’
एमालेमा कर्णालीका पार्टी अध्यक्ष गुलाबजंग शाह, केन्द्रीय सदस्य ऐन महर, पोलिटब्युरो सदस्य महेश बस्नेत, मोहन बाँनियामाथि नैतिकताको प्रश्न सार्वजिनक रूपमै उठेको थियो ।
पोलिटब्युरो बैठकमा बुधबार नेताहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले पार्टी नीतिको पक्षमा, दृष्टिकोणको पक्षमा उभिनपर्ने उल्लेख गर्दै नीति, विधि र दृष्टिकोणका विरुद्ध जान्छ भने त्यसलाई पार्टीमा कुनै ठाउँ नहुने निर्देशन दिएको पोलिटब्युरो सदस्य शेरबहादुर तामाङले बताए । उनले अध्यक्ष तथा प्रधानमन्त्रीको भनाइ भन्दै भने, ‘पार्टीमा नैतिकता गुमाए, आर्थिक अपचलन गरेको प्रमाणित भएकाहरूलाई कुनै स्थान हुने छैन । पार्टी र उनको अराजनीतिक जीवनमा एक रोज्न छुट छ । तर पार्टीमा बस्दा नीति नियमभन्दा बाहिर जान पाइँदैन । नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन ।’
फरक प्रसंगमा ओलीले बैठकमा पछिल्लो समय क्षेत्रीय, जातीय द्वन्द्व भड्काउने प्रयास भइरहेकाले त्यसको विरुद्धमा परिवर्तनका लागि लडेकाहरू एक हुनुपर्ने पनि बताएका छन् । उनले अहिलेको व्यवस्था उत्तम व्यवस्था भएकाे उल्लेख गर्दै यसलाई उल्टाएर राजा ल्याउनुपर्छ भन्ने कुुरा कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा राखेको तामाङले बताए ।
ओलीको भनाइ उद्धृत गर्दै तामाङले भने, ‘गणतन्त्र सबैभन्दा उत्तम व्यवस्था हो । यसलाई उल्ट्याउने कुरा कदापि पनि स्वीकार्य हुँदैन । आजको युगमा निरंकुश, पारिवारिक, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था चाहिँदैन, जनतालाई रैती बनाउने व्यवस्था स्वीकार्य छैन ।’ कतिपयले दलहरू असफल भए राजा चाहिन्छ भन्ने प्रचार गरिरहेकाले एमालेले त्यसप्रति सचेत हुँदै यो व्यवस्थाको रक्षा गर्नुपर्ने ओलीले बताएको तामाङले जानकारी दिए ।
महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको ’निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना’ माथि ५५ जना सदस्यहरूले आआफ्ना धारणा राखेका थिए ।
बैठकमा पोलिटब्युरो सदस्यहरूले राखेका सुझावहरू समेटेर कार्ययोजनालाई अन्तिम रूप दिन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको तामाङले बताए ।