काठमाडौँ । सरकारले सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन बुझेपछि मात्रै संसद्को चालु वर्षे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ ।
यसबीचमा केही विधेयकमाथि छलफलसमेत रहेकाले वर्षे अधिवेशन असोजको पहिलो सातासम्म चल्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ५ मा न्युयोर्क जानुभन्दा कम्तीमा दुई साताअघि नै संसद् अधिवेशन अन्त्य गर्ने मनस्थिति बनाएका थिए ।
तर, कांग्रेस र एमालेकै कतिपय नेताले राष्ट्रिय सभा र समितिबाट केही विधेयक प्रतिनिधिसभामा जाने तरखरमा रहेको र संसदीय विशेष समितिले प्रतिवेदन लेखन अघि बढाइरहेकाले तत्काल संसद् अन्त्य नगर्न सुझाएका थिए ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले समितिको प्रतिवेदन बुझेपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुने बताए । ‘समितिको प्रतिवेदन नबुझी हाउस अन्त्य हुँदैन । हाउसले नै समिति बनाएको छ । सभामुखमार्फत संसद्लाई प्रतिवेदन बुझाएपछि समितिको कार्य र प्रक्रिया समाप्त हुन्छ,’ उनले भने ।