धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताए ।
‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उनले भने– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं ।’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोक्न पनि उनले सचेत गराए ।
अहिले दुई तिहाइका नाममा संविधान संशोधनको विषय ल्याउन खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधनका नाममा समावेशी, समानुपातिक व्यवस्थामा घात हुन्छ कि भन्ने शंका पैदा भएको बताए ।
‘उहाँहरु संविधानमा माओवादी देख्नुहुन्छ, समावेशी भने पनि माओवादी, समानुपातिक भने पनि माओवादी, दलित, महिला मुस्लिम भने पनि माओवादी, गणतन्त्र भने पनि माओवादी’– अध्यक्ष प्रचण्डले भने– ‘अहिले दुई तिहाइ भनेर संविधान संशोधन गर्ने कुरा ल्याउनुभएको छ । परिवर्तनका एजेण्डा जति माओवादीका भएकाले माओवादीलाई देखाइदिने नाममा जनतामाथि नै घात गर्ने खतरा आए हामी सडकबाट प्रतिवाद गर्नेछौं ।’
दुई ठूला पार्टी डराएर मिलेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले संसदीय अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टी मिल्ने अभ्यास कहीँ नभएको पनि बताए ।
