काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन्।
शनिवार काठमाडौं–नुवाकोट सम्पर्क समन्वय समितिको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुको सरकार भएको बताएका हुन् । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको एकपछि अर्को फाइल खोल्न थालेपछि आफ्नो पालो आउने डरमा तत्कालीन सरकार ढालेर बर्तमान सरकार बनाइएको बताए ।
उनले यो सरकार दलाल, पुँजीपतिहरु, बिचौलियाहरु, कमिसनखोरहरु, जाली, फटाहाहरुको प्रतिनिधिको रुपमा रहेको बताए। उनले आफू समातिने हुँ कि भनेर भ्रष्टाचारीहरुमा पैदा भएको डरका कारण यो सरकार बनेको बताए। उनले भ्रष्टाचारीहरुको रक्षाको निम्ति यो सरकार बनेको जिकिर गरे ।
अध्यक्ष दाहालले सरकारसँग भएको दुई तिहाईले केही नगर्ने बताए। जनताको आकांक्षा र जनभावना विपरित गएमा दुई तिहाई बहुमतलाई जनताले ठेगान लगाइदिने उनको भनाइ छ ।
उनले अहिले उत्पीडित जनताले पाएको अधिकारहरु माओवादीले ल्याएको भन्दै दुई तिहाइवालाहरुले दिएको अधिकार नभएको बताए। उनले आफूहरुले संविधान संशोधन गरेर नेपाललाई पछाडी फर्काउन नदिने बताए।
उनले आफूहरु जीवित हुँदासम्म दुनियाँको कुनै तागतले पनि संविधान संशोधन गर्न नसक्ने दाबी गरे । अध्यक्ष दाहालले माओवादी केन्द्रलाई कसैले फुटाउन नसक्ने बताए। उनले फुटेर गएका माओवादी शक्तिहरुपनि एकतावद्ध हुने प्रक्रियामा रहेको उल्लेख गर्दै छिट्टै एकतावद्ध भइसक्ने बताए ।
