काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउनका लागि प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले बुधवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् । प्रतिनिधि सभाको बैठक बिहीवार ( भोलि ) दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।
बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको छ । सभामुखले सोही कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रमुख सचेतकहरुलाई ध्यानाकर्षण गराएका छन् ।
त्यसैगरी समितिका बैठकहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको भन्दै उनले प्रतिनिधि सभा बैठक नबसेको दिन अनिवार्य रुपमा समिति बैठक बसेर विधेयकहरुमाथि छलफल गर्न ध्यानाकर्षण गराएको नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
