काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकलाई चाँडो भन्दा चाँडो संसदबाट पारित गर्नुपर्ने बताएका छन्।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा दफावार छलफलका क्रममा बोल्दै मन्त्री लेखकले सो ऐनलाई छिटोभन्दा छिटो समिति र प्रतिनिधि सभाबाट पारित गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले भ्रष्टाचारसँग सम्बन्धित विषय गम्भीर र संवेदनशील भएको उल्लेख गर्दै यस ऐनको महत्व धेरै रहेको बताए । उनले समितिले पहिचान भएका महत्वपूर्ण विषयमा केन्द्रित भएर दफावार छलफल गर्नुपर्ने धारणा राखे ।
गृहमन्त्री लेखकले अख्तियारको क्षेत्राधिकार, उजुरीकर्ताको पहिचान, स्वार्थ बाझिएको विषय, अनुचित कार्य लगायतको विषय मुख्यगरी पहिचान भएको बताए ।
त्यसैगरी अनुसन्धानका लागि छुट्टै सेवा गठन गर्नुपर्ने र नीतिगत निर्णय तथा भ्रष्टाचारको विषय पनि मुल रुपमा पहिचान भएको भन्दै यी विषयहरुलाई केन्द्रमा राखेर दफावार छलफल अगाडी बढाउनुपर्ने बताए।
