काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताएका छन्।
पार्टी निकट खेलकुद महासंघको केन्द्रीय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताएका हुन्।
समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए ।
भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताए । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए। सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको उनले बताए।
