काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताएका हुन् ।
नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रूपमा रहेको भन्दै यसको अनुभव पनि मौलिक रहेको बताए । उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए ।
राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढंगले स्थापित गरेको बताए ।
सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए ।
