काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्वन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन्।
बुधवार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतीले संक्रमणकालिन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरुले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताए।
उनले प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताए। उनले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उल्लेख गरे ।
उनले विधेयक संक्रमणकालीन न्यायको मान्यतामा आधारित प्रचलित कानून, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकुल रहेको पनि बताए । उनले विधेयक कानून बनेपश्चात सबै पीडितहरुलाई न्यायको अनुभूत गर्नेमा विश्वास व्यक्त गरे ।
