काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताएका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्ने पनि उनले बताए। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको भन्दै उनले थपे, “करकाप होइन, सङ्घर्ष गरेर लोकतन्त्र ल्याएका छौँ, समाजलाई सुव्यवस्थित गर्ने प्रणाली भएकाले यसलाई व्यवहारिक रूपमा सही प्रयोग गर्नुपर्छ ।”
सरकार लोकतान्त्रिक प्रणाली, लोकतन्त्रको मूल्य मान्यता र जनताको हितमा समर्पित भएर काम गर्ने उनले प्रतिबद्धता जनाए। भ्रष्टाचार नियन्त्रण गरी सुशासन ल्याउनेमा कुनै कसर बाँकी नराख्ने उनले बताए। लोकतन्त्रलाई जीवनपद्धतिको रूपमा अघि बढाउने कुरामा कसैको फरक विचार नहुनेमा आफ्नो विश्वास रहेको उनको भनाइ थियो।
हामीले रोजेर ल्याएको लोकतन्त्रविरुद्ध केही प्रवृत्ति बाहिर देखिन थालेको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा, शिष्टताका सीमालाई, इमान र नैतिकताको बन्धन भत्काउने प्रवृत्ति देखिन थालेको उनले बताए। “समाजलाई भत्काउन खोज्ने प्रयास केही तत्त्वले प्रयास गरिरहेका छन्, केही विषयलाई अतिरन्जनाका साथ उठाउने प्रयास भइरहेको छ । त्यस्तो दुष्प्रयासलाई निरुत्साहित गर्नुपर्छ” प्रधानमन्त्री ओलीले भने
‘दिगो र टिकाउ भनेको लोकतन्त्र मात्र हो, यसको प्रणाली हो । यसलाई व्यवस्थित गर्न जनताले योगदान दिएका छन्’ प्रधानमन्त्री ओलीले थपे, “यो प्रणालीलाई हामी जोगाउँछौँ । देश, जनताका लागि जोगाउँछौँ ।”
