काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रमा धेरै बेथिति रहेको बताएका छन्।
आइतवार आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रका बेथिति देख्दा आगोको भुङ्ग्रोमा उभिएको ‘झाँक्री बा’ जस्तै अनुभव भएको टिप्पणी गरेका हुन् ।
उनले सञ्चार क्षेत्रमा हुने कुनै पनि काममा कानून मिच्ने गरेको र बेतिथि रहेको बताए । उनले अहिले आगोको भुङ्ग्रोमा उभिएको झाँक्री बा जस्तै भएर बसेको तर आगोमा उभिएर ज्यान बचाइ काम गर्ने बताए।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्र रहेका बेथितिहरुलाई अन्त्य गर्दै आगामी दिनमा नेपालको आफ्नै स्याटलाइट बनाउने बताए । उनले आगामी चार वर्षमा नेपाललाई सम्पूर्ण रुपमा डिजिटलाइजेसनमा लैजाने प्रतिवद्धता जनाए।
उनले नेपाल टेलिकम र एनसेल नविकरण ८ किस्तामा तिर्ने प्रचलनको अन्त्य गर्ने पनि बताए। उनले ६० वर्ष पुराना ऐनको कारणले काम गर्न असहज भएको भन्दै एक वर्षभित्र सबै कानून संशोधन र सुधार गर्नेगरी काम गरिरहेको बताए।
उनले नेपाल टेलिकम, एनसेलले नविकरण गर्न पाँच वर्षको अनुमति दिनका लागि २० अर्ब रुपैयाँ लाग्ने तर इन्टरनेट प्रदायकहरुलाई ३ लाख मात्रै लिने गरेको भन्दै सच्याउन आवश्यक रहेको बताए।
उनले पाँच वर्षको लागि नविकरण गर्ने २० अर्ब शुल्क ८ किस्तामा तिर्ने प्रचलनले घुसखोरी हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने बताए।
