काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन्।
आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका हुन् ।
उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको दुई तिहाई बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए ।
उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए । नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए। उनले अहिलेको लडाईं प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्याउनुपर्नेमा जोड दिए।
उनले प्रतिनिधि सभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए।
