काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङमाथि लाञ्छना लगाउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रवारबाट काठमाडौंको पेरिसडाँडामा शुरु भएको पार्टी स्थायी कमिटी बैठकले प्रवन्ध निर्देशक घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो ।
भ्रष्टाचार बिरोधी अभियानमा अवरोध आउने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई बैठकले सचेत गराएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकले हवाई र बस दुर्घटनामा परेकाहरुलाई उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । दुवै दुर्घटनामा परी ठूलो धनजनको क्षति भएकाले राहतसहित उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई भनिएको प्रवक्ता सापकोटाले बताए।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुलुकको पछिलले राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्दैै जनताको कुरा सुनेर काम गर्न पनि सरकारलाई सुझाव दिएका थिए ।
उनले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा दलहरुबीच सहमति भएर अघि बढ्ने कुरा सुखद् भएको बताएका थिए।
