काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन्।
बुधवार टिआरसी विधेयक सहमतिका लागि बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएका हुन् । उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको बताए । उनले विधिको शासन भन्दा पर जान नसक्ने पनि बताए ।
उनले डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आए पनि अहिले लोकतान्त्रिक बाटो खुला रहेको बताउनु भयो ।
उनले भने, ‘नेपाललाई शान्ति चाहिएको छ र कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् । त्यसमा हामी सजग छौँ । द्वन्द्वमा नेपाललाई फस्न दिनु हुँदैन, कुनै पनि प्रकारको । यस्तो कुराहरु देशको हितमा हुँदैन । हामी विधिको शासन भन्दा पर जान सक्दैनौं । डेमोक्रेसी, विधिको शासन, मुख्य कुरा यि हुन् । विधिको शासन । विधि भन्दा बाहिर गएर गरिने कुरा त्यो उचित हुँदैनन् । हाम्रो अभ्यासबाट पनि हामीले हेरिसक्यौँ, देखिसक्यौँ । विभिन्न अभ्यासहरु भए पनि विगतमा । तर विधिको शासन भन्दा पर अब डेमोक्रेसी आइसकेपछिको स्थितिमा, डेमोक्रेसी नहुँदा, अधिनायकवाद हुँदा, तानाशाही हुँदा, संवैधानिक बाटो, शान्तिपूर्ण बाटो अवरुद्ध हुँदा र लोकतान्त्रिक माध्यमबाट परिवर्तन र अग्रगमन सम्भव नहुँदा जनताले परिवर्तनका लागि आन्दोलन गर्दै आएका छन् । जब लोकतान्त्रिक बाटो खुला छ भने अरु कुनै किसिमका कुरा स्वीकार्य हुँदैनन् ।’
प्रधानमन्त्री ओलीले अहिलेको सरकार लोकतन्त्रका लागि सचेत रहेको बताए । उनले संवैधानिक कानूनी प्रावधानअनुसार सरकार नचले लोकतान्त्रिक नहुने बताए ।