काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले नागरिकले श्वास फेर्ने हावामा कर लगाउने कानून मात्रै ल्याउन बाँकी रहेको बताएका छन्।
मंगलवारको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफूले विभिन्न विषयमा नजिकबाट नियालिरहेको भन्दै सरकारले खानेपानी र स्वच्छ हावा निःशुल्क रुपमा पाउने पहिलो अधिकार भए पनि पानीमा पनि करमाथि कर बढाएको जिकिर गरे ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन् । व्यवसायिक प्रयोजनका लागि जमिन मुनीको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रश्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।
सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो–तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको बताए । उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा उनले स्मरण गराएका छन् ।