झापा । झापाको बिर्तामोडदेखि अर्जुनधाराको शनिश्चरे जोड्ने सडक निर्माणको काममा ठेकेदारको लापरबाही भएको भन्दै स्थानीयबासीले सडक अवरुद्ध गरेका छन्।
मंगलबार बिहान साढे ११ बजेदेखि बिर्तामोड-शनिश्चरे सडक स्थानीयबासीले अवरुद्ध गरेका हुन्। बिर्तामोड-५ स्थित शनिश्चरे रोडमा रहेको टाटा शोरुम अगाडि स्थानीयबासीले सडकमा ढाट तेर्स्याएर अवरुद्ध गरेका छन्।
संघीय सरकारले बिर्तामोड-सानिचरे रोड निर्माण तथा मर्मत कार्यमा ढिलासुस्ती गरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका छन्।

निरज ओली, राजेश पौडेललगायत १०-१५ जना युवाहरूले बाँसको ढाट तेर्साएर अर्जुनधारा-५ महानन्द चोकसम्म सडक अवरुद्ध गरेका हुन्। निर्माण कार्य चाँडो सम्पन्न गर्न दवाव सिर्जना गर्न यो कदम उठाएको उनीहरूले जनाएका छन्।
उक्त सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।
तर पुलबाट दक्षिण बिर्तामोडको मुक्तिचोकसम्मको सडक जीर्ण हुँदा पनि सडक डिभिजन कार्यालय तथा ठेकेदारले लापरवाही गरेको भन्दै स्थानीयबासी आक्रोशित बनेका हुन्।
उक्त सडकको निर्माणको ठेक्का झापाका ठेकेदार फणिन्द्र तिम्सिनाले पारेका हुन्।
