काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुबीच संवाद र सहमती गरेर अघि बढ्ने कुरामा आफूहरु स्पष्ट रहेको बताएका छन्।
आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएका विश्वासको मत सम्बन्धि प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सभापति देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिने पनि बताए । उनले देशका विद्यमान जटिलतालाई हटाउनका लागि संविधान संशोधन गर्ने कुरा लोकतान्त्रिक प्रक्रिया भित्रै पर्ने भएकाले यसलाई अन्यथा ठान्न नहुने बताए ।
सभापति देउवाले भने, ‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ । संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरुबीच संवाद, सहमतीबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा सहमती भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता केपी शर्मा ओली नेपाली काँग्रेस समेतको समर्थनमा उहाँ विश्वासको मतका लागि आज प्रतिनिधि सभामा प्रश्तुत हुनुभएको छ ।’
सभापति देउवाले मुलुकलाई समृद्ध बनाउन राजनीतिक स्थिरता चाहिएकाले काँग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाउनु परेको बताए।
