काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित तीन प्रतिपक्ष दलबीच सिंहदरबारमा छलफल भएको छ ।
शुक्रवार नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले छलफल गरेका हुन् । आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र सो बारेमा धारणा बनाउन प्रतिपक्ष दलको बैठक बसेको हो ।
प्रतिपक्षको भूमिका निर्वाह कसरी गर्ने र जनताका आवाज कसरी संसदमा बलियो रुपमा उठाउने भन्नेबारेमा साझा धारणा बनाउन बैठक बसेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताए ।
उनले बैठकमा प्रतिपक्षको संख्या कमजोर भएकाले साझा एजेण्डा बनाएर जनजीविकाका सवालमा आवाज उठाउनेबारे छलफल भएको बताए ।
उनले भने, ‘हामी प्रतिपक्ष संख्यामा कम छौँ । त्यसकारणले कसरी बलियो प्रतिपक्ष भएर बस्ने, प्रतपिक्षलाई अलि बढी चुनौति छ नि त्यसकारणले प्रतिपक्ष दलहरुले छलफल गर्नुपर्छ होला । एजेण्डाहरु, जनजीविकाका सवालमा साझा एजेण्डा के कस्ता हुन्छन् भन्ने सामान्य छलफल हो ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (मोओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले बैठकमा आइतवार संसदमा प्रधानमन्त्रीबाट विश्वासको मत लिने कार्यतालिका रहेको र सो विषयमा धारणा बनाउन बैठक बसेको बताए ।
उनले प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरु संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा धारणा बनाएको पनि बताए ।
उनले दुई ठूला दल मिलेको सन्दर्भमा आम जनतामा लोकतन्त्र कमजोर हुने र निरंकुशतातिर जाने एवं प्रतिपक्ष कमजोर हुने आशंका व्यक्त भइरहेको बताए ।
उनले एजेण्डा र स्प्रिड र एकताको हिसावले जनताको भावनालाई प्रतिनिधित्व गर्ने समझदारी प्रतिपक्ष दलहरुमा भएको बताए । उनले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको जिकिर गरे ।
उनले सत्तापक्ष निरंकुश बन्ने खतरा रहेको भन्दै प्रतिपक्षले त्यो हुन नदिने दाबी गरे ।
