काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन्।
सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाए।
उनले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराए । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गरे ।
त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाइ थियो ।
सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरे ।
