काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन्।
गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने तयारी गरेका हुन्।
एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिनका लागि सभामुख देवराज घिमिरेलाई मौखिक जानकारी गराएका छन्।
छिट्टै संसद सचिवालयलाई पनि पत्रमार्फत जानकारी दिने ती नेताको भनाइ छ। स्रोतका अनुसार आगामी आइतबार विश्वासको मत लिनेगरी तयारी गर्न प्रधानमन्त्रीले सभामुख घिमिरेलाई भनेका हुन्।
संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।
उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्।
सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।
