काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
असार १७ गते राति कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्न भएको सहमति अनुसार पहिलो चरणमा ओली नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो।
राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री केपी शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’
यस अगाडि २०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटेका थिए। सर्वोच्चको संवैधानिक इजलासबाट परमादेश जारी भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए। २०७८ साल असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकारलाई बर्हिगमन गराएका थिए।
अहिले कांग्रेस सभापति देउवाकै समर्थनमा एमाले अध्यक्ष ओली पुन: प्रधानमन्त्री बनेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपाल भने देउवा-ओलीको विपक्षमा छन्।
तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन २०८१ साल असार २८ मा ओलीले प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। प्रधानमन्त्री ओलीको शपथ ग्रहण भोलि सोमबार ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
