काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन्।
प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनी पदमुक्त भएका हुन्। बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।
शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए। प्रस्तावमा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ।
सभामुख घिमिरेले प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन्।
प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्तावका पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्।
प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमतलगायत दलका सांसद उभिए।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
त्यसयता गठबन्धन फेरबदल गर्दै प्रधानमन्त्री दाहालले शुक्रबार पाँचौं पटक विश्वास मत प्रस्ताव पेस गरेका थिए। यसअघि विश्वास मत पाउँदै आएका प्रधानमन्त्री दाहालले यसपालि विश्वास मत जुटाउन सकेनन् र सत्ताबाट बहिर्गमन भएका छन्।
