काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन् ।
उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए । उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे ।
उनले प्रधानमन्त्रीलाई आज एकाएक जाति, भाषा, धर्म, संस्कृति, मधेस, दलित र महिलाको याद आएको भन्दै तपाईको लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ? भनि प्रश्न गरे ।
उनले प्रधानमन्त्री दाहालका लागि हतियार बोकेका तमाम दलित युवाहरु कहाँ छन् ? भनेर पनि प्रश्न गरे । उनले आफ्नो स्वार्थसिद्ध गर्नका लागि देशको राष्ट्रियतालाई उधिन्ने काम नगर्न पनि चेतावनी दिए ।
सांसद भट्टराईले संविधान संशोधनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता र सहयोग चाहिने भन्दै यस बारेमा छलफल गर्ने बताए । उनले संविधान संशोधनभन्दा बाहिर गएर दाहालले विद्रोह गर्नु सम्भव नभएको पनि बताए ।
