काठमाण्डौं १४ पुस । सत्ता साझेदार दल राप्रपाका अध्यक्ष कमल थापाले सरकारलाई जनताले कस्तो राजनीतिक व्यवस्था चाहान्छन् भनेर बुझ्न जनमत संग्रह गर्न चुनौती दिएका छन् ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि पनि हिन्दु राष्ट्र राजतन्त्रको वकालत गरिरहेका थापाले आज स्वर्गीय राजा बिरेन्द्रको जन्मदिनका अवसरमा आज राजधानीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै यस्तो चुनौती दिएका हुन् ।
उनले पूर्वराजा वीरेन्द्रबाट राजनीति सिक्न प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । जनताले कस्तो राजनीतिक व्यवस्था चाहान्छन् भनेर बुझ्न वीरेन्द्रले जनमत संग्रह गरेको स्मरण गराउँदै अध्यक्ष थापाले प्रमुख दलहरुलाई पनि जनमत संग्रह गर्न आग्रह गरेका हुन् ।
थापाले जनतालाई सिन्डिकेटको राजनीतिक व्यवस्था लाद्नुभन्दा जनता के चाहान्छन् भन्ने बुझ्न जनमत संग्रह गर्नुपर्ने बताए ।
राप्रपाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विषयमा जनमत संग्रह गर्नुपर्ने माग राख्दै आएको छ ।