काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्नेगरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकमा विभिन्न स्थानमा वर्षा, बाढी र पहिराका कारण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने निर्णय भएको जानकारी दिइन् ।
“सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकामा मुलुकमा विभिन्न स्थानमा वर्षा, बाढी र पहिराका कारण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्नेगरी पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ”, सञ्चारमन्त्री शर्माले बताइन् ।
यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले भनिन् ।
