काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायतका विपद्मा परी हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरामा परी आज दिउँसोसम्म ४८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
बाढी, पहिरोमा परी काठमाडौँ एक जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुई जना तथा सुदूरपश्चिम प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
यसैगरी बाढी पहिरो तथा विपद्का कारण काठमाडौँमा तीन जना, कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा चार जना, बागमती प्रदेशमा चार जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा दुई जना, कर्णाली प्रदेशमा ११ जना तथा सुदूरपश्चिम प्रदेशमा एक जना गरी जम्मा ५४ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ।
