झापा । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालको पत्रकारिता संकटमा रहेकाले पुनर्जागृत गराउन आवश्यकता रहेको बताएका छन्।
झापाको बिर्तामोडमा एडभान्स जर्नालिज्म थ्रु न्यू टेक्नोलोजी विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतले नेपाली पत्रकारितालाई कुन दिशा दिने भन्ने कुरा पत्रकारकै हातमा रहेको बताए।
पत्रकार, आमसञ्चारका माध्यम संकटमा रहेका बेला पत्रकारिताको साख फर्काउनु पर्ने जिम्मेवारी पत्रकारकै काँधमा रहेको उनले बताए। सामाचार तथा अन्य सामाग्रीका लागि सामाजिक सञ्जाल केन्द्रित विभिन्न प्लेटफर्म आएदेखि नै सिर्जनशीलताको अभाव देखिएको अध्यक्ष बस्नेतको भनाइ थियो।
नकारात्मक सन्देश फैलाउने किसिमका सामाग्रीले जरा गाडेकाले सकारात्मक सन्देश दिने किसिमका सामाग्री उत्पादन तर्फ पत्रकारहरू लाग्नुपर्ने उनले बताए। दुई दिनसम्म चल्ने तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट पत्रकारहरू झापाको बिर्तामोड आएका छन्।
नारी सञ्चार गृह झापाको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा अभिमुखीकरण तालिम शनिवारदेखि सुरु भएको हो। तालिम सुरु हुन अघि भएको औपचारिक कार्यक्रमको अध्यक्षता काउन्सिलका बोर्ड सदस्य गणेश पोखरेलले गरेका थिए।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमले सञ्चालन गरेको कार्यक्रममा गृहकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले स्वागत मन्तव्य राखेकी थिइन्।
