काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए ।
कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।
उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताए । उनले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।
कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ ।
गत चैत १५ गतेदेखि सुरू भएको एसईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
