झापा । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको छ।
सोमबार नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
बजेटको आयमा संघीय समानीकरणबाट २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँडबाट १३ करोड ९८ लाख, प्रदेश समानीकरणबाट १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ३४ लाख २० हजार, आन्तरिक स्रोतबाट २० करोड ५० लाख, जग्गा रेटिस्ट्रेसनबाट १२ करोड, संघीय सशर्त चालुबाट २९ करोड ८ लाख ६३ हजार, संघीय सशर्त पुँजीगतबाट ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदानबाट ३ करोड, प्रदेश सशर्त चालुबाट ९४ लाख ४६ हजार, प्रदेश पुँजीगत सशर्तबाट १ करोड ४१ लाख, प्रदेश समपूरकबाट १ करोड ३० लाख तथा जनसहभागिताबाट २ करोड रुपैयाँ प्राप्त हुने नगरको अनुमान रहेको छ।
नगर उपप्रमुख संग्रौलाले बजेट कार्यान्वयनमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए।
बजेट प्रस्तुत गर्न अघि नगरपालिकाद्वारा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो। नगरप्रमुख पवित्रा महतारा प्रसाईंले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
१८६ बुँदामा समेटिएको नगरको नीति तथा कार्यक्रम नगरप्रमुख प्रसाईंले सोमबार सार्वजनिक गरेकी हुन्।
चालु आ.व.मा अवलम्बन गरिएका महत्वपूर्ण नीतिहरुलाई निरन्तरता दिदै पहिलो ५ वर्षे नगर आवधिक योजनाले लिएको उद्देश्य र लक्ष्य, सहस्राब्दी विकास लक्ष्य, राष्ट्रिय प्राथमिकता प्राप्त कार्यकमहरु र सुखी नेपाली समृद्ध नेपालको भिजन समेतको आधारमा आगामी आ.व.का लागि निम्न नीति तथा कार्यकम तय गरी प्रस्तुत गरिएको नगरप्रमुख प्रसाईंले बताइन्। उनले स्थानीयबासीको हितमा काम गर्नकै लागि नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको जानकारी दिइन्।
नीति तथा कार्यक्रममा शिक्षा, राजश्व परिचालन, स्वास्थ्य विकास कार्क्रम, कृषि विकास, पशुपंक्षी तथा मत्स्यपालन विकास, सहकारी, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता, लक्षित क्षेत्र, न्यायिक निरुपण, पर्यटन क्षेत्र, बन, वातावरण, विपद व्यवस्थापन, उदयोग, व्यवसाय, व्यापार, रोजगार, यातायात तथा पूर्वाधार, युवा, खेलकुद तथा कला साहित्य, सुशासन, विज्ञान, प्रविधि, सूचना तथा संचारलगायत क्षेत्रको विकास समेटिएका छन्।