काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकढिक्का बनाएर काँग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमतसहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सक्ने बनाउन सकिने जिकिर गरेका हुन्।
यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशत भन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पार्टी नेपाली काँग्रेसलाई बनाउन सक्ने महामन्त्री थापाको भनाइ थियो ।
उनले त्यसका लागि पार्टी भित्रको एकताको आवश्यक्तामा जोड दिए । बिपी, गणेशमान, किसुनजीको पार्टी नेपाली काँग्रेस भएकाले सो पार्टीलाई आगामी निर्वाचनमा बलियो शक्ति बनाउन सम्भव रहेको पनि महामन्त्री थापाले बताए ।
