काठमाडौँ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले कडाइ गरेको छ ।
पछिल्लो एक हप्तामा भिजिट भिसामा विदेश जान लागेका पाँच सयभन्दा धेरैलाई अध्यगमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ ।
बिचौलियाले गलत रूपमा प्रयोग गरी खाडीसहित प्रतिबन्धित देशमा घरेलु कामदार पठाउन थालेको देखिएपछि कडाइ गरिएको अध्यागमन कार्यालयले जनाएको छ । भिजिट भिसाको नाममा मानव तस्करी हुन थालेपछि अध्यागमन कार्यालयले कडाइ गरेको तर आवश्यक कागजत बोकेर भिजिट भिसामा जान लागेकालाई रोकिएको छैन ।
सरकारले पछिल्लोपटक ल्याएको कार्यविधिमा छ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने देश भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा त्यो नभएमा कम्तीमा पाँच सय डलर बराबरको नगद सटही भएको प्रमाण भएमा भिजिट भिसामा विदेश जान पाइने व्यवस्था छ ।
